पशुपति गिरी, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ गरी दुई महिनामा निर्धारित लक्ष्यको ९१ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ।

कृष्णनगर भन्सार देशका प्रमुख १० भन्सार नाकामध्ये एक हो। गत आर्थिक वर्ष २०८२/०८३ मा ५ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ५ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको कृष्णनगर भन्सारका सूचना अधिकृत मयंक कुमार कर्णले जानकारी दिनुभयो। यो वार्षिक लक्ष्यको ९३ प्रतिशत हो।गत आर्थिक वर्षमा पनि कृष्णनगर भन्सारले राजस्व संकलनमा लक्ष्यको हाराहारीमा उपलब्धि हासिल गरेको सूचना अधिकृत कर्णले बताउनुभयो।

कृष्णनगर नाकाबाट मुख्यरूपमा सिमेन्ट उद्योगका लागि आवश्यक कोइला, खरानी, जिप्सन, लेटराइट, आइरन ओर, बियर उद्योगका लागि आवश्यक माल्ट, बोतल तथा क्यान, स्टिल उद्योगका कच्चा पदार्थ स्पन्ज आइरन र पिग आइरनसँगै चामल, फलफूल तथा तरकारीलगायतका वस्तु आयात हुने गर्छन्।त्यस्तै, नेपालबाट कृष्णनगर नाका हुँदै सिमेन्ट, प्लाइवुड, क्लिङ्कर, जडीबुटी तथा हस्तकला सामग्रीलगायतका वस्तु भारत निर्यात हुने गरेका छन्।

यसका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवैधरूपमा भित्र्याइएका मालवस्तु पक्राउ गरी भन्सार कार्यालयमा बुझाउने गरेका छन्। ती वस्तु लिलाम गरी प्राप्त रकमसमेत भन्सार राजस्वमा समावेश हुने सूचना अधिकृत कर्णले बताउनुभयो।भन्सारमा लक्ष्यअनुसार राजस्व संकलन हुनुमा सुरक्षाकर्मीको निगरानी र नाकामा गरिएको कडाइको समेत भूमिका रहेको उहाँको भनाइ छ। चोरी–तस्करी नियन्त्रणका लागि कपिलवस्तुमा भइरहेको प्रयासले भन्सार राजस्व संकलनमा समेत सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो।