काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ । अरु ठाउँको तुलनामा पाल्पा र कपिलवस्तुमा धेरै पानी परेको छ ।

लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । कपिलवस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशका हिमाली भेगबाहेक अरु सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्नेक्रम अझै बढ्नेछ । केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेश र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । यस्तै कोशी र बागमती प्रदेशको पहाडका एक/दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गर्दै आएको छ ।