युनिक भुसाल,रुपन्देही। स्थानीय तथा स्वदेशी उत्पादनको बजारीकरण गर्दै राष्ट्रिय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनास्थित मुर्गियामा ‘गोठालो मार्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

सामाजिक अभियन्ता डा. निकोलश भुसाल, महेश अधिकारीलगायत युवाहरूको टोलीले ‘देशकै खाऔँ, देशकै लगाऔँ, देशमै रमाऔँ’ भन्ने मूल नाराका साथ मार्ट सञ्चालनमा ल्याएको हो। युवा पुस्ता विदेशिने क्रम बढिरहेका बेला स्वदेशमै उद्यमशीलता, आत्मनिर्भरता र रोजगारीको सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले अभियान सुरु गरिएको सञ्चालकहरूले बताएका छन्।

मार्टमा विशेषगरी जुम्लाको कालो मार्सी चामल, दाङको प्रसिद्ध बासमती चामल, कर्णाली तथा जाजरकोटको शुद्ध मह, रैथाने दाल तथा गेडागुडी, गुन्द्रुक, अल्लो तथा भाङ (हेम्प) बाट बनेका कपडा लगायत घरेलु तथा स्थानीय स्तरमा उत्पादन भएका विभिन्न सामग्री उपलब्ध गराइएको छ।

स्थानीय किसान तथा घरेलु उद्योगीले उत्पादन गरेका सामग्रीलाई बिचौलियामुक्त रूपमा उपभोक्तासम्म पुर्‍याउने र उत्पादकलाई उचित मूल्य दिलाउने उद्देश्यले मार्ट सञ्चालन गरिएको सञ्चालकहरूको भनाइ छ। यसमार्फत स्थानीय उत्पादनको बजार विस्तारसँगै किसान तथा घरेलु उद्यमीलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ।

भौतिक पसलसँगै ‘गोठालो मार्ट’ ले इ–कमर्स अर्थात् अनलाइन प्लेटफर्ममार्फत देशभर सामान डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको छ। हाल विभिन्न जिल्लामा सेवा विस्तार गरिरहेको टोलीले आगामी दिनमा देशका अन्य प्रमुख शहरहरूमा समेत शाखा विस्तार गर्ने योजना बनाएको जनाएको छ।