कपिलवस्तु । रसुवामा आएको विनाशकारी बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले कपिलवस्तुको तौलिहवामा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३४ पिन्ट रगत संकलन गरिएको छ।

पहिलो पाइला नेपाल बाणगंगा शाखाको आयोजनामा, तौलिहवास्थित तिलौराकोट होटलको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता पहिलो पाइला नेपाल बाणगंगा शाखाका अध्यक्ष शेषकान्त मरासिनीले गर्नुभएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाका अध्यक्ष केशव सिंह प्रमुख अतिथि तथा पहिलो पाइला नेपालका केन्द्रीय अध्यक्ष कृष्ण बहादुर राउत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केशव सिंहले विपद्को समयमा रक्तदानको महत्व अझ बढी हुने बताउनुभयो। बाढी तथा अन्य प्राकृतिक विपद्का कारण घाइते भएका नागरिकको उपचारमा रगतको आवश्यकता पर्ने भएकाले रक्तदानमार्फत मानवीय सहयोग गर्न सकिने उहाँको भनाइ थियो। “रक्तदानले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्छ,” उहाँले बताउनुभयो।

त्यस्तै, विशिष्ट अतिथि कृष्ण बहादुर राउतले सामाजिक सेवाका क्षेत्रमा युवाहरूको सक्रियता प्रशंसनीय रहेको बताउँदै विपद्मा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। पहिलो पाइला नेपालले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो।

कार्यक्रमका अध्यक्ष शेषकान्त मरासिनीले रसुवा बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। विपद्को समयमा संकलन गरिएको रगतले आवश्यक परेका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले रक्तदानमा सहभागी सम्पूर्ण रक्तदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो।

रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू, सामाजिक अभियन्ता, स्वयंसेवक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी रक्तदाताहरूले रक्तदान जीवनदान भएकाले सामाजिक उत्तरदायित्वका रूपमा रक्तदान गर्नुपर्ने बताएका थिए।

कार्यक्रमबाट संकलन भएको ३४ पिन्ट रगत रसुवा बाढीमा घाइते तथा उपचाररत बिरामीहरूको उपचारमा आवश्यकताअनुसार प्रयोग हुने आयोजकले जनाएको छ।