विराटनगर । सुनसरीका ९ वटा स्थानीय तहमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश हटाए पनि निषेधाज्ञा आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रप्रसाद अर्यालले यसअघि साउन १२ गते राति ९ बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ८ः३० बजेदेखि बेलुका ५ बजेसम्मका लागि हटाइएको बताए ।

कर्फ्यु हटाइए पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम एकै स्थानमा ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेध आदेश जारी रहेको अर्यालले बताए । उनले अर्को सूचना जारी नभएसम्मका लागि यो व्यवस्था कार्यान्वयनमा रहने प्रशासनले जानकारी दिए ।

आइतबार राति २ समुदायका बीचमा झडप भएपछि सशस्त्र प्रहरीको गोली लागि सुनसरीको देवानगन्जमा ओम प्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागि १० जना घाइते भएको थियो । घाइते मध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि जिल्लाका बिभिन्न स्थानमा तोडफोड आगजनी भएको थियो ।

यस्तै देवानगन्ज घटनालाई लिएर मधेश प्रदेशमा समेत आन्दोलन र प्रदर्शन भएका थिए । यसक्रममा सिरहाको लहानमा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो । गृह मन्त्री सुधन गुरुङ र पीडित परिवारबीच सहमति भएपछि देवानगन्ज घटनाका मृतकको अन्तेष्टी गरिएको छ ।