प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । उनले जेनजी आन्दोलनको म्यान्डेटअनुसार ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

निर्वाचन सम्पन्न गर्नका लागि भूमिका खेल्ने सबैलाई उनले आभार व्यक्त गरिन् । उनले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सरकारको नेतृत्वबाट बिदा हुन पाएको भन्दै खुसी व्यक्त गरिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले युवाको नेतृत्वमा बन्ने सरकारसँगै आफूले नेपालको भविष्य उज्यालो देखिरहेको बताएकी छन् ।

प्रधानमन्त्रीबाट बिदा हुने अघिल्लो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अब बन्ने सरकारले जेनजीको भावना र आंकाक्षालाई सम्बोधन गर्ने उनको विश्वास छ ।

“युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु,” उनले भनिन् ।