घनश्याम भर ,कपिलवस्तु । पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरकाे आयाेजनामा सशस्त्र प्रहरी बल नेपाल (बिओपी) विजयनगरमा सशस्त्र प्रहरी स्तरीय अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत “सीमा क्षेत्रस्थित बाेर्डर आउट पोष्ट” सशस्त्र प्रहरी स्तरीय अन्तरक्रिया गोष्ठी” कार्यक्रम गरिएकाेे चेक पोस्ट कृष्णनगरका प्राविधिक शुभम साेतीले जानकारी दिए ।

सीमा क्षेत्रबाट हुने पशु तथा पशुजन्य पदार्थको आवत-जावतलाई व्यवस्थित गर्ने, रोगको जोखिम न्यूनीकरण गर्ने तथा सम्बन्धित निकायबीच आपसी समन्वय सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो । सीमा क्षेत्रमार्फत हुने अवैध पशु ओसारपसार, नष्ट प्रक्रिया, क्वारेन्टाइन नियमको कार्यान्वयन, संक्रामक पशु रोगको रोकथाम तथा नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सहभागीहरूले सीमा क्षेत्रमा देखिने व्यावहारिक समस्या, जनशक्ति तथा स्रोतसाधनको अवस्था, र सुरक्षा निकाय तथा प्राविधिक निकायबीच समन्वयको आवश्यकताबारे आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए । गोष्ठीमा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका पशु चिकित्सक दयाराम चाैधरीले पशु स्वास्थ्य सुरक्षामा क्वारेन्टाइनको भूमिका, कानुनी प्रावधान तथा हाल देखिएका चुनौतीबारे जानकारी गराएका थिए । उनले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सक्रिय सहयोगले अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै निरन्तर सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विजयनगर (बिओपी) का सशस्त्र प्रहरी निरीक्षक सिताराम श्रेष्ठ, बिओपी जवाबैराठका सशस्त्र प्रहरी निरीक्षक पदम बहादुर जेठारा, बिओपी भिल्मीका सुर्य बहादुर खड्का तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब निरीक्षक रुद्र परियारले सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावित समाधानबारे धारणा राखेका थिए ।

उनीहरूले पशु क्वारेन्टाइन कार्यालयसँग समन्वय गर्दै अवैध ओसारपसार रोक्न, सूचना आदान-प्रदानलाई प्रभावकारी बनाउन र संयुक्त निगरानी बढाउन सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताए । सीमा क्षेत्रमा पशु स्वास्थ्य सुरक्षा, मानव स्वास्थ्य संरक्षण तथा आर्थिक सुरक्षाका लागि यस्ता अन्तरक्रिया कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल डालपुरका सशस्त्र प्रहरी निरीक्षक सिताराम श्रेष्ठले आगामी दिनमा संयुक्त अनुगमन, तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रहसमेत गरे ।