काठमाडौँ

नेपाल प्रहरीको साइबर ब्युरोले सेवा उपयोगकर्ताहरूलाई भीपीएन (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय लिनुअघि नै ब्युरोले एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।

ब्युरोका अनुसार भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुने, बैंकिङ एप ह्याक भई आर्थिक क्षति हुन सक्ने, साथै भाइरस संक्रमणको जोखिम रहने सम्भावना उच्च हुन्छ । यस्ता गतिविधिहरूले प्रयोगकर्तालाई थप साइबर जोखिममा पार्न सक्ने भएकाले भीपीएनको प्रयोगबाट टाढा रहन नागरिकलाई अनुरोध गरिएको छ ।

सरकारले सामाजिक सञ्जालहरू बन्द गरे पनि केही प्रयोगकर्ताहरूले विदेशको लोकेसन देखाउने भीपीएनमार्फत ती प्लेटफर्महरू प्रयोग गर्न खोज्ने प्रयास बढिरहेका छन् । यसलाई ध्यानमा राख्दै साइबर ब्युरोले सर्वसाधारणलाई सचेत गराएको हो ।

ब्युरोले सुरक्षित इन्टरनेट प्रयोगको लागि सतर्क रहन, आधिकारिक एप तथा वेबसाइटहरू मात्र प्रयोग गर्न, र कुनै पनि अविश्वसनीय तेस्रो पक्ष एप्स वा नेटवर्कहरूसँग आफ्नो डाटा साझा नगर्न सुझाव दिएको छ ।