भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा १४ रोपनी ४ आना जग्गा मोही र तलसिक्का कट्टा गरी सो जग्गा मोहीको नाममा प्रमाण पूर्ति गरिदिने भन्दै २४ लाख ५० हजार रुपैयाँ घुस मागेको अभियोगमा तीन जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुर शाखाका कार्यालय प्रमुख कुमार आचार्य, नायब सुब्बा दीपकप्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउत रहेका छन्।

अख्तियारका अनुसार उनीहरूले उक्त काम गरिदिने भन्दै २४ लाख ५० हजार लाख रुपैयाँ मागेको सूचना पाएपछि टोलीले निगरानी गर्दै सोमबार रंगेहात पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।