कपिलवस्तु । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत आठौँ बैठक आज (शनिबार) दिउँसो २ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा विशेष समयमा विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोख बहादुर महराले मन्तव्य दिने कार्यक्रम रहेको छ।

बैठकमा आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफललाई सभामुख तुलाराम घर्ती मगरले निरन्तरता दिनेछन्। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची तय गरिएको छ।

त्यसपछि मुख्यमन्त्री आचार्यद्वारा नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरिनेछ। उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने जिम्मेवारी सभामुखलाई दिइएको छ।