काठमाडौँ । आज देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो ।

गुल्मीमा आज ५६।४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काभ्रेमा पछिल्लो छ घण्टामै ३९।६ मिलीमिटर वर्षा भएको उनले बताए । अहिले सो क्षेत्रमा वर्षा रोकिएको छ । पनौतीको कतिपय ठाउँमा क्षति हुनेगरी बाढी आएको जनाइएको छ ।

पछिल्लो एक घण्टामा बागमती, लुम्बिनी र कर्णालीका कतिपय पहाडी भूभागमा वर्षा भइरहेको उनले बताए । हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपास पानी पर्ने बादल रहेको तथा मेघगर्जनसहितको पानी परिरहेको छ । उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।भोलि कोशी, गण्डकी र बागमतीका पहाडी भूभागमा वर्षा हुने तर पश्चिम तराईमा गर्मीकै अवस्था रहने जनाइएको छ ।(रासस)