कपिलवस्तु । बाणगंगा नगरपालिका–२ स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा वनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ करोड ३६ लाख ४२ हजार ९ सय ८१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

सभामा बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै रोजगारी सिर्जना र स्थानीय विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। वन र स्थानीय सरकारबीच लागत साझेदारीमा विभिन्न विकास निर्माणका काम भइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनको विकासक्रमबारे चर्चा गर्दै विगतमा स्थानीय उपभोक्ताले जनश्रमदानमार्फत वन संरक्षण गर्दै आए पनि त्यसबाट प्राप्त आम्दानीको प्रतिफल सीमित हुने गरेको बताउनुभयो। सरकारले सामुदायिक वनमार्फत वन संरक्षणसँगै त्यसबाट प्राप्त प्रतिफल स्थानीय उपभोक्तामै पुग्ने व्यवस्था गरेपछि वन संरक्षण, विकास निर्माण, रोजगारी तथा सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण काम हुँदै आएको उहाँले बताउनुभयो।

वनका अध्यक्ष भीमसेन कार्कीले वन संरक्षणलाई प्राथमिकतामा राख्दै उपभोक्ताको आर्थिक तथा सामाजिक हितका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। आगामी दिनमा पनि वन संरक्षणसँगै उपभोक्ताको हितमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभामा आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण वनका कोषाध्यक्ष श्यामबहादुर थापा क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो। साथै, साधारण सभामा वनको आगामी कार्ययोजना, बजेट, वन संरक्षण, उपभोक्ता हित तथा स्थानीय विकाससँग सम्बन्धित विषयमा छलफल गरिएको थियो।

सभामा वैज्ञानिक वन उपभोक्ता महासंघका अध्यक्ष रेणु सेन, सब–डिभिजन वन कार्यालयका प्रमुख दिनेशप्रसाद जयसवाल, विभिन्न सामुदायिक वन तथा संघसंस्थाका प्रतिनिधि र वन उपभोक्ताहरूको सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन वनकी सचिव ममता राना मगरले गर्नुभएको थियो।