काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने हेलिकप्टरका लागि नुवाकोटको त्रिशूलीमा हवाई इन्धन पठाइएको छ।

अर्थ मन्त्रालयका अनुसार हेलिकप्टरमा इन्धन भर्न नेपाल आयल निगमले काठमाडौंस्थित डिपोबाट हवाई इन्धनसहितको ट्यांकर तत्काल त्रिशूलीतर्फ परिचालन गरेको हो।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हेलिकप्टर परिचालनमा इन्धन अभाव हुन नदिन त्रिशूलीमै इन्धनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

रसुवा हुँदै आएको बाढीका कारण नुवाकोट, धादिङलगायतका क्षेत्रमा जोखिम बढेपछि उद्धार तथा खोजी कार्यका लागि नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टर परिचालन भइरहेका छन्।