काठमाडौं, साउन १८ – देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई नजिक रहेकाले देशभर वर्षाको सम्भावना बढेको हो।

आइतबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

यस्तै, रातिको समयमा पनि देशभर बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मध्यम वर्षा हुने अनुमान छ।

त्यसैगरी, मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा सुदूरपश्चिम तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्क रहन मौसम महाशाखाले आग्रह गरेको छ।

भारी वर्षाका कारण नदी–नाला, खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।