२० माघ, काठमाडौं ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा छोटो अवधिमै नाफा बुक गर्ने लगानीकर्ता हावी हुँदा समग्र बजार सूचकमा उल्लेख्य सुधार आउन सकेको छैन ।

आगामी २१ फागुनमा हुने निर्वाचनलाई आधार मानेर २ हजार ७ सय ८८ अंकसम्म पुगेको नेप्से सूचक पुनः बिक्री चापको दबाबमा परेको हो ।

निर्वाचनको आधारमा बढेको सेयर बजारमा खरिद गरेका लगानीकर्ताहरूले अल्पकालीन नाफा बुक गर्न खोज्दा धितोपत्र बजार अस्थिर देखिँदै घट्दो क्रममा गएको छ ।

यो साताको सुरुदेखि सेयर बजार सूचक सकारात्मक देखिए पनि कारोबार अवधिभरि ठूलो उतारचढाव देखिँदा सामान्य अंकले मात्र बढेर बन्द हुने अवस्था देखिएको छ ।

यसैबीच, मंगलबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । सोमबार सामान्य अंकले बढेको नेप्से मंगलबार १२.५८ अंकले घटेको हो । कारोबार सुरु हुँदा २ हजार ६ सय ९५.७३ अंकमा रहेको नेप्से मंगलबार २ हजार ६ सय ८३.१५ अंकमा झरेर बन्द भएको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि २.४५ अंकले घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका मध्ये १ सय ९० कम्पनीको सेयर मूल्य घटेको छ । ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेका छन् । यस दिन बैंकिङ समूह ८.७३ अंकले घटेको छ । त्यस्तै, विकास बैंक ३५.७३, वित्त २७.६६, जलविद्युत् ३४.३९, लगानी ०.५३, जीवन बीमा ४९.५७, लघुवित्त २०.९०, निर्जीवन बीमा ३९.४४, अन्य १३.१६ र व्यापार समूह १७.७१ अंकले घटेका छन् ।

तर होटल तथा पर्यटन समूह १३४.७४, उत्पादनमूलक समूह ३४.५६ र सामूहिक लगानी कोष समूह ०.२१ अंकले बढेका छन् ।

नेप्से सूचक घटे पनि मंगलबार कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । नेप्सेमा ३ सय २२ कम्पनीका ९२ हजार ३ सय ३८ कारोबारबाट ८ अर्ब ६३ करोड रुपैयाँ बराबरका १ करोड ८७ लाख ३ हजार कित्ता सेयर किनबेच भएका छन् ।

यो कारोबार रकम सोमबारको तुलनामा बढी हो । सोमबार नेप्सेमा ८ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।