काठमाडौं ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका १७० कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजार परिसूचकमा देखिएको हो ।

बुधबार ५ अंकले बढेको नेप्से परिसूचक बिहीबार १७ अंकले घटेको छ । यद्यपि कारोबार रकममा भने बुधबारको तुलनामा सुधार आएको छ । यो साता नेप्सेमा १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बुधबार ११ अर्ब रुपैयाँको कारोबार भएकोमा बिहीबार कारोबार रकम बढेर १४ अर्ब रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि खर्चको जोहो गर्न सेयर मूल्य घट्दा पनि लगानीकर्ताले सेयर बिक्री गरेको अनुमान गरिएको छ । सेयर मूल्य घटे पनि कारोबार रकम बढेकाले बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने आशा देखिएको लगानीकर्ताहरू बताउँछन् ।

बिहीबार कारोबार सुरु हुँदा २७३१.५९ अंकमा रहेको नेप्से १७.५३ अंक घटेर २७१४.०५ बिन्दुमा झरेको छ । यस दिन नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । साथै ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

यस दिन हिमालय दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

समूहगत परिसूचकतर्फ बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल तथा पर्यटन ९८.९४, जीवन बीमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार समूह ६.७१ अंकले घटेका छन् ।

तर जलविद्युत् समूह १३.७७, लगानी समूह ०.०५ र सामूहिक लगानी कोष ०.०७ अंकले बढे पनि त्यसको प्रभाव समग्र बजार परिसूचकमा देखिन सकेन ।

बिहीबार नेप्सेमा ३२० कम्पनीका १ लाख ३८ हजार ८ सय ८३ कारोबारबाट १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम बुधबारको तुलनामा उल्लेख्य रूपमा बढी हो । बुधबार नेप्सेमा ११ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।