काठमाडौँ ।

हिजो उच्च अङ्कले घटेको सेयरबजार आज सामान्य रूपमा बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ५.०८ अङ्कले बढेर २७३१.५९ विन्दुमा पुगेको छ ।

आज बैंक, लगानी, बीमा र माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै समूहको सेयर सामान्य रूपमा बढेको छ । बजारमा १४१ वटा कम्पनीको सेयर बढेकोमा ११२ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयरमा कुनै परिवर्तन भएको छैन ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीको शेयरमा १० प्रतिशतले सर्किट ब्रेक लागेको छ । सामान्य बजार बढेको दिन गुलविल फाइनान्स कम्पनीको डिबेन्चर २०८३ सबैभन्दा धेरै ८.०७ प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो १४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३३४ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर ११ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएका छन् ।