काठमाडौँ ।

दक्षिण–पश्चिम बंगालको खाडी क्षेत्रमा विकसित ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवातको असरले देशका केही भू–भागमा आंशिक बदलीसँगै हुस्सु देखिएको छ ।

सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही स्थानमा हुस्सु देखिएको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

राति पनि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले चक्रवात ‘दित्वा’ को प्रभाव अस्थायी हुने र सामान्य बदली बाहेक विशेष जोखिम नदेखिएको उल्लेख गरेको छ ।