बाणगंगा। सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादनलाई स्थानीय तहमै प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘कोशेली घर तथा सहकारी बजार’को औपचारिक शुभारम्भ गरेको छ। शुक्रबार विहान ८ बजे आयोजित समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि, स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा बजार सञ्चालनको घोषणा गरिएको हो।

सहकारीको मूल मन्त्र “एकका लागि सबै, सबैका लागि एक” लाई अघि बढाउँदै सुरु गरिएको परियोजनाले किसान, महिला समूह, साना उद्यमी र स्थानीय व्यवसायीलाई दिगो तथा भरपर्दो बजार उपलब्ध गराउने लक्ष्य राखेको छ। “उत्पादन घरमै, बजार गाउँमै” अभियान अन्तर्गत लोकल प्रोडक्टलाई स्थानीय बजारमै खपत बढाउने यो पहल भएको संस्थाले जनाएको छ।

नव–स्थापित सहकारी बजारमार्फत किसानका तरकारी, फलफूल, दाल–अन्न, दुग्धजन्य पदार्थ, घ्यू, महदेखि महिला समूहका हस्तकला तथा लुम्बिनी क्षेत्रको पहिचान झल्काउने मौलिक सामग्री सहकारीमार्फत प्रत्यक्ष बिक्री गरिनेछ।यसले बिचौलियाको भूमिका घटाई किसानले उचित मूल्य पाउने व्यवस्था सुनिश्चित गर्ने सहकारीको विश्वास छ।सदस्यहरूका लागि सहकारीले विशेष लाभांश योजना पनि अघि सारेको छ, जसअनुसार सहकारी बजारमा हुने कारोबारको २० प्रतिशत मुनाफा सदस्यकै खातामा जमा हुनेछ। यसले स्थानीय स्तरमा आर्थिक सुरक्षामा थप योगदान पुर्याउनेछ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु प्रसाद पन्थीले सहकारी क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकाले राज्य र सहकारी दुवैले हातेमालो गरी रोजगारी, आत्मनिर्भरता र स्वावलम्बनको समाज निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए।

उहाँले केही सहकारीहरू व्यक्तिगत स्वार्थमा चुके पनि अधिकांश सहकारीहरूले सकारात्मक भूमिका खेलिरहेको उल्लेख गर्दै,
“सहकारीको मूल मूल्य, उद्देश्य र पारदर्शिता कुनै हालतमा कमजोर हुन हुँदैन,”भन्नु हुँदै सहकारी क्षेत्रको प्रवद्र्धनका लागि आफू निरन्तर प्रतिबद्ध रहने बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले कोशेली घर स्थापना नगरपालिकाको दीर्घ अध्ययन, तयारी र लगनको परिणाम भएको बताउँदै यसको दिगोपनामा सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्थानीय उत्पादन, उद्यमी र सहकारीबीच समन्वय गर्दै कोशेली घरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिए स्थानीय अर्थतन्त्र अझ सबल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, कृषि विकास शाखा प्रमुख लेस बहादुर केसी, सहकारी विकास बोर्डका पूर्व कार्यकारी सदस्य तथा सल्लाहकार गुणानिधि भुसाल, सहकारी महासंघ लुम्बिनी प्रदेशका लेखा संयोजक तेज प्रसाद आचार्य, बाणगंगा नगरपालिका–२, ८, ९ र १ का वडा अध्यक्षहरू, पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी, शेयर सदस्य तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोह संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, उपाध्यक्ष कुलराज पौडेलको स्वागत मन्तव्य र सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।सहकारीका व्यवस्थापक दिनामणी खनालले बजारको कार्यविधि तथा भविष्य योजनाबारे विस्तृत जानकारी दिए।