काठमाडौँ ।

सरकारले बिहीबारदेखि विभिन्न २६ वटा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएपछि केही कम्पनीहरूले सूचीकरणका लागि सम्पर्क गर्न थालेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म दुईवटा कम्पनी मात्रै सम्पर्कमा आएका छन्, जसमध्ये एकको दर्ता प्रक्रिया अगाडि बढिसकेको छ ।

“सूचीकरणका लागि आह्वान गरिए पनि समयमै सम्पर्क नआएकाले ती सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाइएको हो,” प्रवक्ता ठाकुरले नेपालखबरसँग भने, “प्रतिबन्ध बिहीबारदेखि लागू भइसकेको छ भने केहीमा कार्यान्वयनको प्रक्रिया जारी छ ।

‘हाम्रो पात्रो’ ले बिहीबार नै दर्ताका लागि जानकारी मागेको थियो र शुक्रबार आवश्यक कागजातहरू पनि बुझाइसकेको छ। यसको दर्ता प्रक्रिया अघि बढिसकेको छ र मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी गराइसकेको छ।”

अन्य कम्पनीहरूबारे सोध्दा प्रवक्ताले ‘एक्स’ ९पूर्व ट्विटर० मात्रै सम्पर्कमा आएको जानकारी दिए। “‘एक्स’ ले आधिकारिक इमेलमार्फत आवश्यक कागजातहरूबारे जानकारी मागेको थियो। हामीले आवश्यक विवरण पठाइसकेका छौं,” उनले थपे ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले, सूचीकरण नगरिएका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गर्दै, नेपाल दूरसञ्चार प्राधिकरणलाई कार्यान्वयनका लागि निर्देशन दिएको थियो ।

त्यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई फेसबुक, ह्वाट्सएप, एक्स लगायतका सामाजिक सञ्जाल बन्द गर्न भनिएको थियो। हाल ती सञ्जालहरू क्रमशः बन्द हुँदै गइरहेका छन् ।

‘हाम्रो पात्रो’ सामाजिक सञ्जाल हो तरु निर्देशकको प्रतिक्रिया

सरकारका अनुसार, ‘हाम्रो पात्रो’ ले बिहीबार निवेदन दिएर शुक्रबार आवश्यक कागजातहरू बुझाइसकेको र त्यसको दर्ता प्रक्रिया अघि बढिसकेको छ । आवश्यक विवरण प्राप्त भएलगत्तै प्रतिबन्ध हटाइने बताइएको छ । तर ‘हाम्रो पात्रो’ की निर्देशक सुदीना गौतमले भने आफूहरू सामाजिक सञ्जाल नभएको दाबी गरेकी छन् ।

“हाम्रो पात्रो त सामाजिक सञ्जाल होइन, हामीलाई नबुझी दुस्ख दिइयो । सामाजिक सञ्जाल भनेको त दुई व्यक्तिबीच संवाद हुने माध्यम हो, जुन हामीसँग थिएन,” उनले भनिन्, “हामी त अहिलेमात्र त्यसको तयारीमा थियौं । अब च्याट सेवा ल्याउने तयारीमा छौं, त्यसअनुसार दर्ता प्रक्रियामा पनि गएका हौं ।”