कपिलवस्तु । देशभरका २२ लाख बालबालिकालाई शनिबार भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । भिटामिन ए र जुकाको औषधि आइतबार पनि खुवाइने छ ।
बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक विकासमा पनि यसले प्रभाव पार्ने हुन्छ । बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले भिटामिन ए र जुकाको औषधि खुवाइने गरिन्छ ।जुका सरसफाइको अभावले हुने गर्दछ । यसले आन्द्रामा घाउ बनाएर त्यसबाट पोषक तत्त्व सोस्ने गर्छ । बालबालिकालाई बिस्तारै कुपोषित बनाउँदै जान्छ ।कर्बोहाइट्रेड, फ्याट चिल्लो,प्रोट्रिनलाई बढी खाइए पनि सूक्ष्मपोषक तत्त्व कम मात्रामा खाइने हुँदा भिटामिन ‘ए’ को कमी हुने स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक कुमार लाल बताउँछन् ।
‘बालकालिकामा भिटामिन ए अभाव भयो भने दृष्टिमा असर पर्न सक्छ । रतन्धो, आँखामा घाउ भएर दृष्टिविहीन हुने समस्या पहिला धेरै देखिन्थ्यो । यसलाई न्यूनीकरण गर्न पाँच वर्षमुनिका बालबालबलिकालाई वर्षको दुई पटक वैशाख र कात्तिकमा जुकाको औषधि र भिटामिन ए खुवाइने गरिन्छ ।भिटामिन ए र जुकाको औषधि खुवाएसँगै बालबालिकाको स्वास्थ्य पोषण पनि परीक्षण गरिन्छ ।स्वास्थ्य सेवा विभागका अनुसार यस पटक राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदै छ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ ।२०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ए कार्यक्रम २०५९ देखि देशभरि नै लागु गरिएको हो ।जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।
प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ए र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।आँखाको देख्ने शक्तिलाई सधैँ स्वस्थ र तन्दुरुस्त राख्न र शरीरलाई विभिन्न प्रकारका सङ्क्रामक रोगहरूबाट बचाइराख्न भिटामिन ए आवश्यक पर्दछ । भिटामिन एको कमीले गर्दा नेपालमा प्रतिदिन एक जना बालबालिका अन्धो हुने गरेको सरकारी तथ्याङ्क छ ।