काठमाडौं : अष्ट्रियालाई हराउँदै टर्कीले युरो कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।
जर्मनीको लाइप्जिगमा गएराति भएको खेलमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो। टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काए पनि बराबरी भने गर्न सकेन।
खेलको पहिलो मिनेटमै डेमीरालले टर्कीलाई गोल दिलएका थिए। आर्डा गुलरको कर्नरमा आएको बललाई अष्ट्रियाको डिफेन्सले क्लियर गरे पनि डेमीरालले ६ यार्ड बक्स भित्रबाट गोल गर्न सफल भए। दोस्रो हाफको ६६ औं मिनेटमा गुलरकै कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे।
६६ औं मिनेटमा अष्ट्रियाले गोल फर्कायो । माइकल ग्रेगोरिस्चले क्लियर हुन नसकेको बलमा गोल गर्दै खेलमा फर्काए। त्यसपछि अष्ट्रियाले लगातार आक्रमण गरे पनि सफल भएन।
अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३-० को जित दर्ता गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो।
अन्य क्वाटरफाइनलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ।