काठमाडौं ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाउँदै उनले सोमबार रिट निवेदन दायर गरेका हुन् ।

श्रेष्ठले बोर्ड अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि २०८० मा छनोटसम्बन्धी प्रक्रिया रद्द गर्ने व्यवस्था नभएको जिकिर गर्दै प्रक्रिया रद्दले कानुनी मान्यता पाउन नसक्ने रिटमा उल्लेख गरेका छन् ।

अध्यक्ष नियुक्ति प्रक्रियाबारे पुनः सूचना प्रकाशन सम्बन्धमा कुनै काम कारबाही भए बदर गरी पाउन उनले माग गरेका छन् । प्रक्रिया रद्द हुनुअघिका कामकारबाहीलाई यथावत राखी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारको नाम सिफारिस गर्नु साथै सोहीको आधारमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुरगराउनू भनी विपक्षीको नाममा आदेश माग गरेका छन् ।