कपिलवस्तु ।राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले स्थापनाको अवसरमा दशौं चुरे संरक्षण दिवस मनाएको छ । समिति कार्यक्रम कार्यन्वयन इकाई , बुटवल, रुपन्देही र विभिन्न सम्बन्धित निकायको सहकार्यमा फुलबारी सामुदायिक वन आसपासका क्षेत्रमा फलपुलका विरुवाहरुको वृक्षरोपण तथा जनचेतनाका कार्यक्रम गरी यो दिवस मनाएको फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीले जानकारी दिनुभयो ।उक्त कार्यक्रमका प्रमुख अतिथी तथा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना रहेको बताउदै चुरे क्षेत्र धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग समेत रहेको बताउनु भयो ।उहाँले वृक्षरोपण गरिएका विरूवाहरूको संरक्षण र स्याहार सम्भार गर्ने कार्य पनि उत्तिकै महत्वपूर्ण भएको भन्दै त्यसको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी विशिष्ट अतिथी तथा डिभिजन वन कार्यलय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताउनु भयो । उहाँले वृक्षारोपण कार्यक्रमले आम जनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै बिरूवाहरूको संरक्षण र स्याहार सम्भार गर्ने कार्य उत्तिकै महत्वपूर्ण भएको बताउनु भयो ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यन्वयन इकाई , बुटवल, रुपन्देहीका प्रमुख रामकृष्ण राजथलाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा बाणगंगा वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेल,फुलबारी सामुदायिक वनका अध्यक्ष जयलालल गिरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा बाणगंगा वडा नं.७ का वडा सदस्य,जनसेवा कृषी सहकारीका पदाधिकारी,फुलबारी सा.वनका पदाधिकारी तथा उपभोक्ताहरु , वाणगंगा नगरपालिका वन अधिकृत,स्कुलका प्र.,विद्यार्थीहरु लगायतको उपस्थिती थियो भने कार्यक्रमको सञ्चालन राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यन्वयन इकाई , बुटवल, रुपन्देहीका बैज्ञानिक अधिकृत जीवन पाण्डेले गर्नुभएको थियो ।

पूर्वी नेपालको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३७ वटा जिल्लामा फैलिएको चुरे कूल भू–भागको १२ दशमलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको छ ।