बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । तिलोत्तमा जेसीजको आतिथ्यतामा यहि भदौको ८ र ९ गते मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने सम्मेलनमा देशभरबाट करिब १ हजार जना विभिन्न प्रतिनिधिहरुको सहभागिता रहने सम्मेलनका उपनिर्देशक तथा तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष यादव भट्टराईले जानकारी दिए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र घ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यवेच्छेक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहने भएको हो । सम्मेलनमा तीन जना युवा नेताहरु स्पिकरको रुपमा तय गरिएको छ । जसमा नेपाली काँग्रेसका प्रदिप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिश झा र एमालेका ठाकुर गैरे उपस्थित हुने भएका छन् ।
सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने र प्यानल फलफल हुने तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए । नेपालमै उत्कृष्ट नगरपालिकाको रुपमा पहिचान स्थापित गरेको नयाँ नगरपालिका तिलोत्तमामा थप सम्भावनाको खोजी र त्यसको प्रचारप्रसारको लागि पनि कार्यक्रम गर्न तिलोत्तमा जेसीज अग्रसर भएको उनको भनाई छ । त्यस्तै सम्मेलनमा आएका प्रतिनिधिहरुलाई तिलोत्तमा नगरपालिकाले गरेका राम्रा कामहरुको स्थलगत अवलोकन गराईने तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विनोद सुवेदीले जानकारी दिए ।