रुपन्देही ।
नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सरकार तस्करको ध्येयका लागि अगाडि बढिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनलाई स्थापित गर्न आफू कटिबद्ध रुपमा लागेको बताउँदै आए पनि स्टण्डबाजीका रुपमा अघि बढ्दै आएको उल्लेख गरे ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बर्तौलाले भन्सार विभागका कर्मचारीले बताए अनुसार १० दिन अगाडि नै ठूलो मात्रामा सुन आउँदै छ भनेर जानकारी आएको थियो ।
उनले त्यो कुरा प्रधानमन्त्रीलाई समेत थाहा हुन्छ भने गृहमन्त्री मातहतको सुरक्षालाई जानकारी हुँदैन भनेर कसरी विश्वास गर्नु भन्दै सडकसम्म आएको तस्करी क्विन्टलका क्विन्टल सुन समातिन्छ । यसमा आफूहरुलाई आशंका पैदा भएको बताए ।
उनले इलेक्ट्रिक सिगरेटमा आएको ९ किलो सुनलाई बरामद गरी कोठाभित्र राखिएको सुन गायब हुनुलाई सरकारले किन खोजबिन र छानबिन गर्न ध्यान नदिनु सरकारको नियत स्पष्ट भएको जनाए ।
त्यसैले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आवाज संसदमा उठाउँदै आएकोमा सरकारले त्यसमा कुनै चासो नदिनु कहिँ न कहिँ संलग्नता भएको शंका उत्पन्न भएको उल्लेख गरे ।
सांसद बर्तौलाले वर्तमान सरकारका कार्यकारी प्रमुख प्रचण्डले प्रतिपक्ष दलहरुलाई दायाँबायाँ गराउने काम गरे मसँग धेरै विषयहरु छन् भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तर्साउँदै आएको जनाए ।
सुन तेस्रो मुलुकबाट आउँछ, फेरि तेस्रो मुलुक जान्छ यसमा अन्तर्राष्ट्रिय बलियो राजनीतिक सेटिङ भएको जिकिर गर्दै यो समस्या ूमाईतीघर मण्डला, बानेश्वर र रत्नपार्कबाट नभई सम्मानित संसदमा उभिएर जवाफदेही हुनुपर्ने बताए ।
उनले भने, हामीले सरकार सँग उचित जवाफ मागिरहेका छौं, तर यो गठबन्धन सरकारले प्रतिपक्षलाई आरोप लगाउँदै भन्छ, कि प्रतिपक्षले गलत फण्डा ल्यायो ।
उनले आक्रोश पोख्दै भने, उपेन्द्र यादवले जब सरकारका बारेमा आवाज उठाउनुभयो तब सरकारले गौर हत्याकाण्ड घटनाको फाइल खोल्ने स्टण्ड ल्याइयो । फेरि अहिले सरकारले उपेन्द्र यादवले आत्मसमर्पण गर्नुभयो भनेर भनियो । के यही हो सुशासन कायम गर्ने अनुसन्धान ? छानविन र?
उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै यदि सरकार टिकाउने स्टण्डलाई लिएर अगाडि बढ्दै गए कडा खबरदारी गर्ने चेतावनी दिए ।
सम्मेलनमा पत्रकारहरुले सोधेको जिज्ञासामा संसद ठीक ढंगले नचलेको, सरकारले विजनेश नदिएसम्म संसद बैठक एक मिनेट पनि चल्न नसक्ने स्पष्ट पार्दै सरकारमा सहभागी सम्पूर्ण मन्त्रीहरु उपस्थिति नहुँदासम्म बैठक अपूरो हुने बताए । सरकार र सरकारका मन्त्रीहरुमा जवाफदेहीता नभएको कारण संसद चल्न नसकेको उनले बताए ।
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा प्रेस सम्मेलनमा बोल्दै सतेचकले बर्तौलाले यो सरकार जति लम्बिन्छ त्यतिनै राष्ट्रलाई ठूलो घातक हुने दाबी गरे ।
साथे उनले एमालेका कारण संसद रोकिएको नभइ सरकारकै कारण अवरुद्ध हुँदै आएको भन्दै यद्यपि सरकारले जबसम्म उच्चस्तरीय छानबिन समिति बनाउँदैन तबसम्म यो आवाज र माग उठाइरहने बताए ।