घोराही।
दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको छ ।
जङ्गली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका –४ निवासी ११ वर्षीया अस्मिता सुनारको मृत्यु भएको वडा अध्यक्ष डाँसबहादुर डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मंगलबार साँझ थप उपचारका लागि बुटवल लगिएको थियो । उपचारका क्रममा उहाँको अस्पतालमै मृत्यु भएको हो ।
मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उहाँका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ । मंगलबार घर नजिकै जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका ४ मा एकै घरका तीन जना बिरामी परेका छन् ।