रोल्पा ५ साउन ।जंगली विषालु च्याउ खाएर रोल्पामा थप एक जनाको मृत्यु भएको छ । यससँगै रोल्पामा पछिल्लो १० दिनको अवधिमा जंगली च्याउ खाएर ४ जनाको मृत्यु भइसकेको छ ।असार २६ मा च्याउ खाएर बिरामी भई उपचार गराइरहेकी लुंग्री गाउँपालिका–५ बुझिङ गाउँकी ७ वर्षीया रोशनी विकको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।यसअघि च्याउ खाएर सोही गाउँका एकै परिवारका तीन जनाको ज्यान गएको थियो ।
प्रहरीका अनुसार च्याउ खाएपछि उपचार गरारएकामध्ये ७ वर्षीया रोशनीको भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको हो भने उनीसँगै बिरामी भएका अन्य तीन जनाको बुटवलमा उपचार भइरहेको छ ।गम्भीर बिरामी भएका ३ जनामध्ये २६ वर्षीया विमला विकको आईसीयूमा राखेर उपचार भइरहेको छ । २४ वर्षीया आकृति र ६ वर्षीया दिलमायाको बुटवलस्थित सिटी अस्पतालको इमेर्जेन्सी विभागमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।उनका अनुसार असार २६ मा च्याउ खाएर बिरामी भएका उनीहरु २९ असारमा सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगेका थिए ।
त्यही प्राथमिक उपचार गरेर थप उपचारका लागि वुटवलमा पठाइएकामा खर्च अभाव भएको भन्दै सबै घरतिर फर्किएका थिए ।प्रहरीका अनुसार पुनः स्वास्थ्यमा समस्या देखिएपछि सबैलाई आइतबार बुटवलमा पु¥याइएकोमा मंगलबार रोशनीको ज्यान गएको हो । अन्यलाई पनि प्राथमिकतासाथ उपचार गर्ने व्यवस्था मिलाइएको लुंग्री गाउँपालिकाका अध्यक्ष भरत थापाले बताए ।अघिल्लो साता पूर्वी रोल्पाको लुंग्री–५ बुझिङ गाउँका एकै परिवारका तीन जनाको च्याउ खाएर मृत्यु भएको थियो ।
बुझिङ कालोपहरका दुर्गे गुरुङका श्रीमती ३३ वर्षीया भीमा गुरुङ, छोराहरु ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमले जंगली च्याउ खाएर ज्यान गुमाएका थिए । उनीहरु सबैको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा गुरुङका सानो छोरा प्रेमको, ठूलो छोरा सुशील र भीमा गुरुङको मृत्यु भएको थियो । उक्त गाउँका च्याउ खाएर बिरामी भएका करिब एक दर्जनको उपचार भइरहेको छ ।