कपिलवस्तु — बाणगङ्गा नदीमा आएको बाढीले बगाएर बेपत्ता भएका १० वर्षीय बालक बुद्ध लामाको शव भारतमा फेला परेको छ।

शनिबार दिउँसो करिब ३ बजे बाणगङ्गा नदीमा आएको बाढीका क्रममा बाणगङ्गा नगरपालिका–८ का बुद्ध बेपत्ता भएका थिए। उनको खोजीका क्रममा आइतबार दिउँसो करिब १२ बजे नेपाल–भारत सीमाबाट करिब २ किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा शव फेला परेको हो।

प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार भारतीय क्षेत्रमा शव फेला परेपछि भारतीय प्रहरीको समन्वयमा शवलाई सोहरदगढ प्रहरी चौकीमा राखिएको छ।

बाणगङ्गा नदीमा आएको अचानकको बाढीले बालकलाई बगाएपछि नेपालतर्फ खोजी तथा उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा नदीको बहावसँगै शव सीमापारि पुगेको पाइएको प्रहरीले जनाएको छ।आवश्यक कानुनी तथा प्रशासनिक समन्वय पूरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।