इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुको नेतृत्व अब पहिलो पटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक अर्जुन पौडेल आफ्नो व्यावसायिक अनुभवलाई अन्तर्राष्ट्रिय अभ्यास सँग जोड्ने अवसरमा पुगेका छन् ।

उनी मित्रराष्ट्र संयुक्त अरब इमिरेट्स (UAE) मा सञ्चालन हुने ‘IACP/UAE Ministry of Interior Police Academy Exchange Program’ अन्तर्गत करिब पाँच महिनाको अन्तर्राष्ट्रिय प्रहरी आदान–प्रदान तथा तालिम कार्यक्रममा सहभागी हुन गए पछि उनको स्थानमा प्रहरी निरीक्षक कालिका कार्की पिपरा आउन लागेकी हुन्।

इलाका प्रहरी कार्यालय पिपराको इतिहासमा पहिलो पटक महिला प्रहरी निरीक्षकले कमाण्ड सम्हाल्न लागे सँगै कार्कीको आगमनलाई प्रहरी संगठन भित्र मात्र नभई स्थानीय स्तरमा समेत चासोका साथ हेरिएको छ। दक्षता, अनुशासन, समन्वय र नागरिक सँग विश्वासको सम्बन्ध निर्माण गर्ने क्षमताका कारण परिचित कार्कीका लागि पिपराको कमाण्ड नयाँ जिम्मेवारी सँगै आफ्नो कार्यक्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बनेको छ।

कार्की यस अघि इलाका प्रहरी कार्यालय गढवा, दाङमा कार्यरत रहँदा समेत आफ्नो नेतृत्व क्षमता र कार्य सम्पादनबाट प्रभाव छाड्न सफल भएकी प्रहरी अधिकृत हुन्। विशेष गरी महिला, बालबालिका तथा यौनजन्य हिंसाका घटनामा पीडितमैत्री प्रहरी सेवाको अभ्यास गर्दै उनले प्रहरीप्रतिको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

गढवामा कार्यरत रहँदा कार्कीले भारतमा बेचिएकी एक महिलाको उद्धारका लागि आफैं भारत पुगेर तीन दिनको प्रयासपछि पीडित महिलालाई सफलतापूर्वक उद्धार गर्न सफल भएकी थिइन्। सीमापार अपराध र मानव बेचबिखनजस्तो संवेदनशील विषयमा देखाएको सक्रियता उनको कार्यक्षमताको एउटा महत्वपूर्ण उदाहरणका रूपमा लिइन्छ।

कार्कीको अनुभवमा महिला प्रहरी अधिकृतको नेतृत्वमा महिला तथा यौनजन्य हिंसाका पीडितले आफ्ना समस्या अझ सहज रूपमा राख्न सक्ने वातावरण बन्ने गरेको छ। उनको यही दृष्टिकोणले प्रहरी सेवालाई केवल कानुनी कारबाहीमा सीमित नराखी पीडितको मनोविज्ञान बुझ्ने, विश्वास जित्ने र न्यायको पहुँच सहज बनाउने अभियानसँग जोडेको देखिन्छ।

पिपरा क्षेत्र कपिलवस्तुको महत्वपूर्ण प्रहरी क्षेत्रका रूपमा रहेको छ। यहाँ अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला तथा बालबालिकामाथि हुने हिंसा, मानव बेचबिखन, चोरी–डकैतीलगायतका चुनौती सँगै नागरिक सँग प्रहरीको सम्बन्धलाई अझ प्रभावकारी बनाउने जिम्मेवारी पनि नयाँ नेतृत्वको काँधमा हुनेछ।

यस्तो अवस्थामा कार्कीको महिला प्रहरी निरीक्षकका रूपमा हुने आगमनलाई केवल नेतृत्व परिवर्तनका रूपमा मात्र नभई प्रहरी सेवामा संवेदनशीलता, जवाफदेहिता र नागरिकमैत्री व्यवहारलाई थप बलियो बनाउने अवसरका रूपमा समेत हेरिएको छ। अर्जुन पौडेलले आफ्नो कार्यकालमा अनुसन्धान र अपराध नियन्त्रणमा प्रभावकारी छाप छाडेर बाहिरिँदै गर्दा पिपरामा आउने कार्कीका लागि पनि नागरिकको विश्वास कायम राख्दै आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्ने चुनौती हुनेछ। तर, विगतको कार्य सम्पादन, जटिल घटनामा देखाएको सक्रियता र महिला तथा बालबालिकाका संवेदनशील विषयमा काम गरेको अनुभव हेर्दा पिपराले अनुभवी र कामबाट आफूलाई प्रमाणित गरिसकेकी प्रहरी अधिकृत पाउने छ।