अर्घाखाँची । शितगंगा नगरपालिका–११ लाई दुईवटा वडा कायम गर्ने विषयमा सर्वपक्षीय बैठकले सर्वसम्मत निर्णय गरेको छ।

जिल्ला समन्वय समिति प्रमुखसहितको कार्यदल, शितगंगा नगरपालिकाका प्रमुख तथा नगरपालिकाको टोली, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र वडाका विभिन्न टोलबस्तीबाट आएका स्थानीयको सहभागितामा खयरभट्टीमा सर्वपक्षीय बैठक बसेको थियो।

बैठकले भौगोलिक रूपमा जिल्लाकै विशाल तथा दुर्गम क्षेत्र मानिने शितगंगा–११ लाई साविकका वडा नम्बर ५ र ६ लाई अलग–अलग वडा कायम गर्ने गरी विभाजनको प्रस्ताव सर्वसम्मत रूपमा तयार गरेको हो।

करिब १४६ वर्ग किलोमिटर क्षेत्रफल रहेको विशाल भूगोलका कारण स्थानीयवासीलाई सरकारी सेवा प्रवाह, प्रशासनिक काम तथा विकास निर्माणमा सहजता ल्याउन वडा विभाजन आवश्यक रहेको वडा अध्यक्ष नवराज भुसालले बताए।

वडा विभाजन भएपछि दुर्गम तथा टाढाका बस्तीका नागरिकलाई वडा कार्यालयबाट प्राप्त हुने सेवा सहज हुने र विकास निर्माणका कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सर्वपक्षीय बैठकबाट तयार भएको प्रस्तावलाई सम्बन्धित निकायमा आवश्यक प्रक्रिया पूरा गरी पठाउने तयारी गरिएको जनाइएको छ।