कपिलवस्तु । नेपाल–चीन सीमा क्षेत्र रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत भएका नागरिकको सम्मान तथा आत्मशान्तिको कामना गर्दै बाणगंगा–२, पिपरामा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरिएको छ।

वडा स्तरिय युवा क्लब बाणगंगा–२, पिपराको आयोजनामा घटनाको तेह्रौँ दिनको पुण्यतिथिमा सोमबार साँझ बाणगंगा नगरपालिका–२, नन्दनगरस्थित मनकामना संस्कृति गुरुकुल विद्यालयमा कार्यक्रम गरिएको हो।

क्लबका अध्यक्ष विमल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०८ जना वटुकद्वारा आत्मशान्तिको पाठ, दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो। कार्यक्रममा करिब ३२० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि आचार्य प्रमुख अतिथि, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष विष्णुप्रसाद पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। त्यस्तै वडा सदस्य झिमलाल सापकोटा, उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष खिमानन्द पौडेल, समाजसेवी तथा लायन्स क्लब कपिलवस्तुका निर्वतमान अध्यक्ष नारायण पौडेल, वडा नं. २ का वडा सचिव नरेन्द्रप्रसाद पोख्रेल तथा मनकामना संस्कृति गुरुकुल विद्यालयका प्राचार्य कृष्ण पोख्रेललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न सामुदायिक वन, संघसंस्था तथा स्थानीय क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका निर्वतमान अध्यक्ष विवेक वि.सी.ले गरेका थिए।