कपिलवस्तु । लुम्बिनी विकास कोष मातहतको निकै महत्वपूर्ण लुम्बिनी संग्रहालय सञ्चालनको जिम्मा निजी कम्पनीलाई ठेक्कामा दिइएको तथ्य खुलेको छ । लुम्बिनीको मायादेवी मन्दिर परिसर, नवलपरासीको रामग्राम तथा कपिलवस्तुको तिलौराकोटलगायत विभिन्न स्थानबाट उत्खनन् गरिएका निकै महत्वपूर्ण सम्पत्ति बुद्धकालीन पुरातात्विक वस्तु रहेको लुम्बिनी संग्रहालय बुद्ध फाउन्डेसनलाई ३५ वर्षका लागि लिजमा दिइएको छ ।

लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले सामान्य रेखदेख तथा सरसफाइका लागि भन्दै सेप्टेम्बर १, २०१८ मा बुद्ध फाउन्डेसनलाई सरकारी संग्रहायल जिम्मा लगाएका थिए । व्यभार कोषलाई पर्ने तर फाउन्डेसनलाई प्राचीन र पुरातात्विक वस्तु रेखदेखको अधिकार दिने, दातृ निकायले दिने अनुदान निजी कम्पनीमा जाने र कम्पनीलाई भौतिक पूर्वाधारका लागि आवश्यक पर्ने रकम समेत कोषले उपलब्ध गराउने जस्ता बुंँदा राखेर तत्कालीन उपाध्यक्ष भिक्षु मैत्तेयले बुद्ध फाउन्डेसनकी कार्यकारी प्रमुख सुम्निमा उदाससँग सम्झौता गरेका थिए ।

उदास हाल रास्वपा सांसद एवम् प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति हुन् । त्रिपाठी (भिक्षु मैत्तेय) अहिले पुनः लुम्बिनी विकास कोषमा तेस्रो पटक उपाध्यक्ष बन्न दौडेपछि अनेक कोणबाट चर्चा चलेको हो । पहिले उपाध्यक्ष हुँदा नियम मिचेर लिजमा दिइएको विषयले पुनः उपाध्यक्षमा भएको उनको दौडपछि अहिले प्रमुखता पाएको छ ।

फाउन्डेसन कम्पनी ऐन २०६३ अन्तर्गत दर्ता भएको संस्था हो । लुम्बिनी म्यूजियमको संरक्षण, विकास र प्रचारप्रसार गर्न कोषले फाउण्डेसनलाई लिजमा दिएको उल्लेख छ । सम्झौतामा सरकारी संस्था कोषलाई मर्का पर्नेगरी अस्वाभाविक अधिकार दिइएको बताइन्छ । कोषले फाउन्डेसनलाई विद्यमान संग्रहालय विकास र नयाँ विस्तार (एक्सटेन्सन) दुवैको डिजाइन, वित्त व्यवस्थापन, मर्मत–सम्भार, निर्माण, सञ्चालन र रेखदेख गर्ने अधिकार प्रदान गरेको सम्झौतामा उल्लेख छ । – जनअास्था