काठमाण्डौ । अहिले देशका विभिन्न ठाउँमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका एक/दुई ठाउँमा छिटपुट वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी डोटीमा ७४ मिलिमिटर र डडेल्धुरामा ६४ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै, दोलखा, तनहुँ, सङ्खुवासभा र इलामलगायतका ठाउँमा पनि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।