कपिलवस्तु । रस्सुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति बाणगंगा नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाले भदौ १० गतेको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

राष्ट्रिय विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बाणगंगा नगर कार्यपालिकाको मिति २०८३/०५/१९ गते बसेको बैठकले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ४५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार उक्त रकम जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषमार्फत जुटाइएको हो। राष्ट्रिय विपद्को समयमा स्थानीय तहको स्रोतलाई प्रभावित नागरिकको राहत र पुनःस्थापनामा जोड्नु सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

नगर प्रमुख चक्रपाणी अर्यालले विपद् कुनै भूगोल, वर्ग वा समुदाय विशेषको समस्या नभई सबैको साझा चुनौती भएको बताउँदै विपद्को समयमा सरकारका सबै तह र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ।

नगर प्रमुख अर्यालले भन्नुभयो, “भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ। पीडित परिवारको पीडामा बाणगंगा नगरपालिका पनि साथमा छ। राष्ट्रिय विपद्को यो कठिन अवस्थामा स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्नु हाम्रो मानवीय तथा सामाजिक दायित्व हो। त्यसैले राहत तथा पुनःस्थापनाका लागि ४५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेका हौँ।”

उहाँले विपद्पछिको राहतसँगै प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। तत्कालको राहतले पीडितको जीवनमा केही सहजता ल्याए पनि दीर्घकालीन पुनःस्थापनाका लागि राज्यका सबै निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ।

बाणगंगा नगरपालिकाको यो निर्णयले स्थानीय सरकार आफ्नो क्षेत्रभित्रका नागरिकको आवश्यकता मात्र नभई राष्ट्रिय विपद्मा समेत मानवीय संवेदनासहित जिम्मेवार साझेदारका रूपमा उभिन सक्छ भन्ने सन्देश दिएको छ। ४५ लाख रुपैयाँको सहयोगले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।