कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–स्थित मधुवनधाम गौशालाको पूर्वाधार विकासका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौशालालाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी गर्न लागेको हो।

विनियोजित बजेटबाट गौशालामा कार्यालय भवन तथा गाई राख्ने सेड निर्माण गर्नुका साथै गौशाला आवतजावत गर्ने मार्गमा कल्भर्ट निर्माणलगायतका काम अघि बढाइने भएको छ।

निर्माण कार्य अघि बढाउन आवश्यक स्थलगत निरीक्षण तथा लागत अनुमान तयार गर्न पर्यटन डिभिजन कार्यालय, भैरहवाको टोली मधुवनधाम पुगेको छ। पर्यटन डिभिजन कार्यालय भैरहवाका प्रमुख नेत्रप्रसाद भुसालले पूर्वाधार विकासका लागि आवश्यक लागत अनुमान तयार गर्न स्थलगत निरीक्षण गरिएको बताउनुभयो।

प्रमुख भुसालका अनुसार गौशाला गाई संरक्षणसँग जोडिएको महत्वपूर्ण स्थल भएकाले यसको पूर्वाधार विकास धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण रहेको छ। स्थलगत निरीक्षणपछि आवश्यकताका आधारमा लागत अनुमान तयार गरी निर्माण प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।

मधुवनधाम गौशाला बाणगंगा नगरपालिकाभित्र रहे पनि यसको उपयोग र महत्व जिल्लाका विभिन्न स्थानीय तहसँग जोडिएको छ। जिल्लाका विभिन्न स्थानीय तहबाट ल्याइएका छाडा चौपायालाई समेत गौशालामा संरक्षण गर्दै आइएको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताउनुभयो।

गौशालामा पूर्वाधार निर्माण भएपछि छाडा चौपाया व्यवस्थापनसँगै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।