कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाको कार्यपालिकाको बैठकले नगरपालिकामा कार्यरत कर्मचारीहरूको एक दिन र जनप्रतिनिधिहरूको तीन दिनको तलब बराबरको रकमबाट राहत सामग्री खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेको नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो।

नगर प्रमुख थापाका अनुसार राहत सामग्री सरकारी निकायमार्फत सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले उक्त निर्णय गरेको हो।

यसैबीच, शिवराज नगरपालिकाभित्रका केही नागरिकसमेत सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरिने नगर प्रमुख थापाले बताउनुभयो।

भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि शिवराज नगरपालिका थप सहयोग गर्नसमेत तयार रहेको नगर प्रमुख थापाले बताउनुभयो।