कपिलवस्तु। कपिलवस्तु क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवार माेहनलाल आचार्य काठमाडौं पुगेका छन्।

तर उपविजेता बनेका स्वतन्त्र उम्मेदवार आशिष शर्मा चुनावमा पराजित भए पनि मतदाता र समर्थकलाई धन्यवाद दिन गाउँ–गाउँ पुगिरहेका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएको केही दिनमै शर्मा क्षेत्रका विभिन्न गाउँमा पुगेर मतदातासँग भेटघाट गर्दै धन्यवाद व्यक्त गरिरहेका छन्। चुनाव जित्न नसके पनि जनताको विश्वास र साथप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि क्षेत्रको विकास र जनताको समस्याका लागि निरन्तर सक्रिय रहने बताएका छन्।

उनको यो शैलीलाई स्थानीयले जनतासँग नजिक रहने नयाँ राजनीतिक संस्कारको रूपमा लिन थालेका छन्। धेरै मतदाताले चुनाव सकिएपछि नेताहरू हराउने पुरानो प्रवृत्तिभन्दा फरक रूपमा शर्माले प्रत्यक्ष भेटघाट गर्दै धन्यवाद दिइरहेको बताएका छन्।

यता निर्वाचन जितेका आचार्य भने औपचारिक प्रक्रिया तथा राजनीतिक भेटघाटका लागि काठमाडौं पुगेका छन्।