कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट अंक प्राप्त गर्ने ३० जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा कक्षा ८, ९ र १० मा अध्ययनरत रही उत्कृष्ट अंक प्राप्त गर्दै प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने छात्रा विद्यार्थीलाई साइकल प्रदान गरेको हो ।

यसैगरी ४७ जना विपन्न तथा गरिब विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ । शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले हुरेक नेपाल संस्थाको सहयोगमा विद्यार्थीहरूलाई ब्याग, कपी, ज्यामिति बक्स सेट, पेन र पेन्सिल प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको बताएका छन् । उनलेे छोरीहरूको शिक्षामा लगानी गर्नु भनेको देशको भविष्य सुरक्षित हुँदै गएको जिकिर गरे ।

विद्यार्थीहरू मिहिनेत र अनुशासनका साथ अध्ययनमा लागेमा विद्यार्थीहरूको सपना पूरा गर्न गाउँपालिका सधैँ साथमा रहने अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए । उनलेे आर्थिक अवस्थाका कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे ।

कार्यक्रमबारे जानकारी दिँदै शिक्षा शाखा प्रमुख हरिहर बेल्बासले गाउँपालिकाले आगामी दिनमा पनि विद्यार्थी लक्षित शैक्षिक प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । गाउँपालिकाले भाैतिक पुर्वाधार निर्माणकाे साथै शैक्षिक सुधार र गुणस्तरीयतामा जाेड दिएकाे उनको भनाई छ ।

उत्कृष्ट अंक प्राप्त गरेका छात्रा विद्यार्थीहरुका अभिभावकलाई गाउँपालिकाले सम्मानसमेत गरेको छ ।