बाणगंगा । घरबारविहीन, असहाय, अशक्त तथा सडकमा जीवन बिताइरहेका व्यक्तिहरूका लागि बाणगंगा नगरपालिका–४ मा दैनिक निःशुल्क खाना सेवा सञ्चालन हुने भएको छ। होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले “भोकको विरुद्ध मानवीय अभियान” अन्तर्गत २०८२ माघ १ गतेदेखि ३ गतेसम्म निःशुल्क खाना वितरण गर्ने निर्णय गरेको हो।

संघले बिहान १०ः०० बजेदेखि बाणगंगा–४ स्थित चोक (तौलिहवा रोड) मा दैनिक रूपमा खाना वितरण गरिने जानकारी दिएको छ। संघका अनुसार भोकले कोही पनि सुत्न नपरोस् भन्ने उद्देश्यका साथ अभियान थालिएको हो।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले भने “भोकसँग लड्न सबैको सामूहिक सहकार्य आवश्यक छ। सडकमा बस्ने, घरबारविहीन तथा असहाय व्यक्तिहरूमा आशा जगाउने हाम्रो प्रयास हो। एक छाक खाना कसैका लागि जीवन बाँच्ने प्रेरणा बन्न सक्छ, त्यसैले यो सेवा व्यवस्थित रूपमा निरन्तर अघि बढाइनेछ।”

पौडेलले अभियान सफल बनाउन समुदाय, व्यापारी, सामाजिक संस्था तथा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताए।स्थानीयवासीले अभियानलाई मानवताका लागि सकारात्मक कदमको रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार निःशुल्क खाना सेवाले जाडो मौसम र कठिन परिस्थितिमा आश्रित व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग पुग्नेछ।