१४ पुस, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहको शिक्षा तथा विकास विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु रहेको पाइएको छ ।

एमएड दोस्रो सेमेस्टरको २८ मंसिरमा भएको शिक्षा तथा विकास विषयमा सोधिएको ११ वटा प्रश्नमध्ये ९ वटा प्रश्न २०८१ को प्रश्नसँग हूबहु र २ वटा प्रश्न समान खालको आएको शिक्षक र विद्यार्थीहरूले बताएका छन् ।

त्रिविका एक प्राध्यापकले भने, “अघिल्लो वर्षको प्रश्न सोधिनु भनेको प्रश्नपत्र बाहिरिएको हो । एउटै प्रश्न दोहोरिनुले परीक्षा प्रणालीको मर्यादा उल्लङ्घन भएको छ । परीक्षाको निष्पक्षता, विश्वसनीयता र गुणस्तरमा प्रश्न उठेको छ ।”

एमएड दोस्रो सेमेस्टरको परीक्षा गत २७ मंसिरदेखि ७ पुससम्म चलेको थियो । प्रश्नपत्र बाहिरिँदा पनि डिन कार्यालयले कुनै निर्णय नलिएको गुनासो केही प्राध्यापकहरूले गरेका छन् ।

प्राध्यापकका अनुसार, “प्रश्नपत्र दोहोरिएपछि तत्काल परीक्षा समितिको बैठक बसेर पुनः परीक्षा गर्नु पर्ने हो । ७ पुसमा परीक्षा सकिएपछि दोहोरिएको विषयको पुनः परीक्षा ९ पुसमा गर्न सकिने थियो, तर डिन कार्यालयले यो विषय गुपचुप राख्यो । ढिलागरी पुनः परीक्षा लिँदा विद्यार्थीलाई असर पर्छ ।”

डिन वेदराज आचार्य भने केही प्रश्नपत्र दोहोरिएको भए पनि बाहिर आएको जस्तो नभएको दाबी गर्छन् । उनले भने, “अलिअलि दोहोरिएको हो । यो विषयमा आज सम्बन्धित व्यक्तिहरूलाई स्पष्टीकरण मागेको छु । तर पुरानो प्रश्नपत्र हेरेर बनाइएको पाइएको छैन ।”

प्रश्नपत्र दोहोरिनुको कारणमा सधैं एउटै व्यक्तिले प्रश्नपत्र बनाउने, प्रश्नपत्र बैंकको व्यवस्था नहुनु र मोडेरेसन प्रक्रिया नपुगेको आरोप प्राध्यापकहरूले लगाएका छन् ।

प्राध्यापकका अनुसार, “प्रश्नपत्र मोडेरेसनमा समस्या छ । रिमोडरेसन नगरी प्रश्न सोध्ने गरिएको हो । एक-दुई सेट प्रश्न मात्र बनाएर परीक्षा लिँदा पनि दोहोरिने गरेको छ ।” यसअघि पनि यस्तै प्रकृतिको घटनामा दोषीलाई कारबाही र पुनः परीक्षा लिइएको नजिर छ ।