अर्घाखाँची, ११ पुस ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका-७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा चालक रुद्रबहादुर बुढा मगर (४५ वर्ष) को मृत्यु भएको छ, उनी भूमिकास्थान-१० धनचौरका रहेका थिए । अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानका अनुसार घाइते १६ जनाको उपचार भइरहेको छ ।

जीप दुर्घटना त्यस बेला भएको हो जब विद्यार्थीहरू पालिकास्तरीय राष्ट्रपति रनिंग शील्ड प्रतियोगितामा भाग लिन जाँदै थिए । दुर्घटनापछि राष्ट्रपति रनिंग शील्ड प्रतियोगिताका सम्पूर्ण खेलहरू स्थगित गरिएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले जानकारी दिएका छन् ।