कपिलवस्तु । बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत दोस्रो दिन ५ हजार भन्दा धेरै दर्शकले अबलोकन गरेका छन् । मंसिर ७ गते आईतबार लोकप्रिय गायक पुस्कल शर्मा, भोजपुरी मोडल प्रिती पाशवान गायक मधु परियार, गायिका कुसुम परियार लगायतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए ।

पुस्कल शर्माको प्रस्तुतीमा केही दर्शकका आँखा रसाएका थिए । यता भोजपुरी मोडल प्रिती पाशवानले नचाएकी थिईन् ।मेलामा सोमबार मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक विष्णु खत्रि, बसन्त लम्साल, भोजपुरी गायक कपिलदेव धवल बर्षा लम्साल लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक संकर भाट क्षेत्रीले बताए ।

मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु. १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ ।

उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।