काठमाडौं ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको छ ।

विभागले जनाएको छ कि उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी तथा यी नदीका सहायक नदीनालामा पानीको बहाव उल्लेख्य बढ्नेछ । यसले सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ । कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे पर्वतबाट बहने स–साना नदीनालामा आकस्मिक बहावको जोखिम उच्च रहने विभागको भनाइ छ ।

बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्लामा, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरीमा, साथै कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको देखिएको छ ।

सम्भावित वर्षा र हिमपातका कारण नदीनालामा आकस्मिक बहाव, पहिरो, सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायत क्षेत्रमा प्रभाव पर्न सक्ने सम्भावना छ ।

त्यसैगरी, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशतर्फ प्रवेश गरिरहेको छ। विभागले जनाएको छ कि यसको प्रभाव बिस्तारै कमजोर हुँदै उत्तर–उत्तरपश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्नेछ।