बाणगंगा । वाणगंगा नगरपालिका–८ स्थित जनसेवा आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर गम्भीर अनियमितता र आफन्तवादको आरोप सार्वजनिक भएको छ। विद्यालयका प्राचार्य भानु प्रकाश आचार्यले निजी स्रोतबाट आउने रकममा आफ्नै बहिनीलाई पास गराएको आरोप लागे पछि विद्यालय प्रशासन माथि प्रश्नको घेरो थपिएको छ।

स्थानीय त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहले विद्यालयमा कम्प्युटर सम्बन्धी ज्ञान भएको शिक्षक राख्नका लागि वार्षिक २ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भए पछि शिक्षक आवश्यकता सम्बन्धी सूचना प्रकाशन गरिएको थियो। तर, सूचना प्रकाशन अघि विद्यालयका अधिकांश शिक्षकहरूलाई समेत जानकारी नदिइएको एक शिक्षकले बताएका छन्।

विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निष्पक्ष रूपमा परीक्षा लिने भनिए पनि सूचना सार्वजनिक भए पछि एक महिला प्रधानाध्यापक आचार्य ‘दाइ अर्घाखाँची जानु भएको छ’ भन्दै विद्यालयमा पुगेकी थिइन्। पछि उनी अरु कोही नभई प्राचार्य आचार्य कै बहिनी रहेको खुलेको स्रोतको दाबी छ। २५ जना सहभागी भएको परीक्षामा योग्य र सक्षम उम्मेदवार हुँदा हुँदै आफ्नै बहिनीलाई पास गराइएको भन्दै परिक्षामा सहभागिले असन्तोष व्यक्त गरेका छन।

स्रोतका अनुसार प्राचार्य आचार्यले सूचना नै गोप्य शैलीमा प्रकाशन गरी आफ्नै मन पर्ने उम्मेदवारलाई फाइदा पुर्‍याउने नियत देखाएको आरोप छ। परिक्षामा प्रकाशन हुने प्रश्न पत्र समेत आउट गरेको बिषय समेत उनी माथि आरोप छ । उनी यसअघि वाणगंगा नगरपालिका –१० कपिलवस्तु स्थित कामता माध्यमिक विद्यालय, करेलियामा कार्यरत थिए। २०८० सालमा दरबन्दी मिलानका क्रममा जनसेवा स्कुलमा हाजिर भएका आचार्य उक्त विद्यालयमा २०८१ सालमा प्राचार्य नियुक्त भएका उनी राजनीतिक पहुँचका आधारमा पदमा पुगेको आरोप समेत लाग्दै आएको छ।

विद्यालयका केही शिक्षक तथा कर्मचारीहरूका अनुसार प्रधानाध्यापक आचार्यको अहंकारी शैलीका कारण विद्यालयभित्र लामो समय देखि असन्तोष बढि रहेको छ। सामुदायिक वन तथा नगरपालिकाबाट विभिन्न शीर्षकमा आउने बजेटमा समेत फर्जी बिल मिलाएर रकम दुरुपयोग गरेको आरोप उनी माथि लागेको छ।

पत्रकारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दया प्रसाद घिमिरेलाई प्रश्न गर्दा भने शिक्षक नियुक्तिमा ‘सेटिङ’ भएको विषयमा आफू जानकार नरहेको प्रतिक्रिया दिएका छन्। यदि प्रधानाध्यापक र विषय विज्ञबीच केही भएको हो भने मलाई जानकारी छैन, तर मेरो संलग्नता देखिए म जिम्मेवारी लिन तयार छु,” उनले बताएका छन्।

यता पत्रकारले २५ जना सहभागीमध्ये आफ्नै बहिनी पास गराएको विषयमा प्रश्न गर्दा प्रधानाध्यापक आचार्य आक्रोशित बनेका थिए। विषय विज्ञको नाम माग्दा उनी चर्को स्वरमा झर्किएर फोन काटेको र पुनः सम्पर्क गर्दा पत्रकारलाई कुन पत्रिका हो भन्दै अस्लील शब्द प्रयोग गरि प्रतिक्रिया दिएको प्रमाण पत्रकार संग सुरक्षित रहेको छ ।
वाणगंगा नगरपालिकाको युवा, खेलकुद तथा शिक्षा शाखाका प्रमुख रोशन घिमिरेले भने उक्त परीक्षाबारे आफूलाई कुनै जानकारी नरहेको बताएका छन्। “विद्यालयले लिएको परीक्षाबारे शाखालाई औपचारिक जानकारी आएको छैन, । उनले बताए।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले शिक्षक नियुक्ति देखि विद्यालयका विभिन्न शीर्षकमा आउने रकमसम्म आर्थिक अनियमितताको आरोप लागि रहेका प्रधानाध्यापक माथि तत्काल छानबिन गरी कडा कारबाही गर्नका लागि स्थानीयले माग गरेका छन्।

विद्यालय जस्तो शैक्षिक संस्थामा आफन्तवाद, गोप्य सूचना प्रकाशन, आर्थिक अनिय मितता जस्ता आरोप उठ्नु स्वयंमा गम्भीर विषय भएको भन्दै स्थानीयले नगरपालिका तथा सम्बन्धित निकायले छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग जोडतोडले उठाएका छन्।

यदि आरोपहरू सत्य प्रमाणित भए, प्रधानाध्यापक आचार्य माथि के कस्तो कारबाही हुन्छ र विद्यालयको शैक्षिक वातावरण कसरी जोगाइन्छ भन्ने विषय अहिले स्थानीय समुदायको प्रमुख चासोको विषय बनेको छ।