काठमाडौँ, कार्तिक

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन–धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।

सफा–सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यताका आधारमा आज बिहानै घर आँगन, झ्यालढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ । आज साँझ लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै पूजा गरिने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरिन्छ । त्यसपछि चामलको पीठो र अबीरले लक्ष्मीका पाइला कोरिएर लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरेर झिलिमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मीको स्थापना गरिन्छ । त्यसपछि गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला अर्पण गरेर विधिपूर्वक पूजा गरिन्छ ।

लक्ष्मीपूजा पश्चात् कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने परम्परा पनि प्रचलित छ । पूजा गरेपछि घरबाट धनदौलत वा कुनै बहुमूल्य वस्तु बाहिर पठाइएमा लक्ष्मी बाहिरिने धार्मिक विश्वास रहिआएको छ ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीहरूले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन–धान्यको आगमन होस्’ भन्ने भावना सहित कामना गर्ने शास्त्रीय विधि रहिआएको छ ।

आजको दिन साँझ युवतीहरू समूह बनाएर घर–घरमा भैलो खेल्ने परम्परा पनि छ । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकमा शासन गर्ने वरदान पाएका बलिराजाले ‘भलो होस्’ भनेर गाउन लगाएको सम्झनामा भैलो खेलिने धार्मिक विश्वास छ । ‘भलो होस्’ भन्ने शब्द कालान्तरमा अपभ्रंश भई ‘भैलो’ बनेको भनाइ पनि छ ।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने गरिन्छ । यो कात्तिक महिनाको दान भएकाले नदिए पाप लाग्ने र दिए पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजाको अवसरमा आज शहर बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ । कतिपय कुल परम्परा अनुसार आजै बिहान गाईको पूजा पनि गरिन्छ । यद्यपि शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख छ ।