काठमाडौँ ।

आज आइतबार देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँचदिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो । बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटीका गरी यो पर्व पाँच दिनसम्म मनाइन्छ । वैदिक सनातन हिन्दू धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ । नेपाली समाजमा अझै पनि ‘काग करायो भने पाहुना आउँछ’ भन्ने जनविश्वास रहेको छ । यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही, भात लगायतका मिठा परिकार अर्पण गर्ने परम्परा छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही–भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास छ ।

कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने मान्यता पनि रहेको छ । त्यसैले आजको दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भनेर प्रार्थना गरिन्छ । यो पर्वले धार्मिक पक्ष मात्र होइन, मानिस र जनावरबीचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता र प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ ।

धार्मिक मन्त्रोच्चारण गर्दै कागलाई पूजा गर्ने चलन रहेको छ । मन्त्रमा भनिएको छ — “कागोऽसि यमदूतोऽसि वायोसोऽसि माहामते । ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङकटात् ।।” जसको अर्थ, तपाईँ कागको रूपमा हुनुहुन्छ, यमराजका दूत हुनुहुन्छ र वायुपतिको शक्ति अर्थात् गति र सञ्चारका कारक हुनुहुन्छ । हे महामान्य, म यहाँ तपाईँलाई यो बलि अर्पण गर्दछु । कृपया मलाई यमराजका संकटबाट जोगाउनुहोस् ।

धर्मशास्त्र अनुसार यमराजले पृथ्वीमा रहेका सबै जीवहरूको जन्म र मृत्युसम्बन्धी विवरण राख्ने गर्दछन् । सो विवरण ल्याउने र लैजाने कार्य कागले गर्छ भन्ने विश्वास आज पनि कायम छ । आकाश मार्गबाट छिटो सन्देश आदान–प्रदान गर्न सक्ने क्षमताका कारण यमराजले कागलाई आफ्नो दूतको रूपमा नियुक्त गरेको जनश्रुति पाइन्छ ।

यस्तै, अर्को धार्मिक किंवदन्ती अनुसार वैदिक कालमा बलि नामका असुरराजा अत्यन्त दानी थिए, जसका कारण देवगण समेत त्रसित थिए । भगवान् विष्णुले वामन अवतार लिई ब्राह्मणको भेषमा बलिसँग तीन पाइला जमिन माग्दा उनले पृथ्वी, आकाश र अन्ततः आफ्नो शिर अर्पण गरेका थिए । बलिको दानशीलता देखेर प्रसन्न भएका विष्णुले उनलाई वर्षको पाँच दिन — कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म — पृथ्वीको शासन गर्ने वरदान दिएका थिए । यही अवधिमा तिहार पर्व मनाइने गरिन्छ भन्ने धार्मिक विश्वास प्रचलित छ ।

यसै अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिरमा आज विशेष पूजा आराधना गरिएको छ । यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेखनीय भीड लागेको छ ।