काठमाडौँ ।
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।

आज दिउँसो १ः२३ बजेसम्म द्वादशी तिथि रहेको र त्यसपछि त्रयोदशी तिथि प्रारम्भ हुने भएकाले आजदेखि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएको हो ।

दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन् ।

काग तिहार भने आइतबार परेको उनले बताएका छन् । बेलुकी त्रयोदशी तिथि परेका दिन धन त्रयोदशी र यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता रहेको उल्लेख गर्दै सायङ्कालमा त्रयोदशी परेमा यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकाल अर्थात् सूर्योदयकालमा त्रयोदशी परेमा काग तिहार मनाउनुपर्ने परम्पराअनुसार निर्णय गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिएका छन् ।

यमपञ्चकको अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ । धनवन्तरी जयन्ती भने आइतबार परेको समितिले जनाएको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले स्पष्ट पारेको छ ।

यमदीपदान गर्दा परिवारका सदस्यहरूको सङ्ख्याका आधारमा बत्ती बाल्नुपर्ने हुन्छ । साथै, दीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म, अर्थात् भाइटिका सम्पन्न नभएसम्म यमदीपदान गरिन्छ ।

कार्तिक २ गते आइतबार बिहान अरुणोदयकालमा नरक स्नान गरेर कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले जानकारी दिएका छन् । सोमबार बिहान अरुणोदयपूर्व स्नान गर्दा अपामार्गसहित नुहाइने परम्परा रहेको छ । यसलाई नरक स्नान भनिन्छ । उक्त दिन विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउँदा नरकको यातना भोग्नुपर्दैन भन्ने धार्मिक विश्वास छ ।

कार्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी तिथि रहने र त्यसपछि औँसी तिथि प्रारम्भ हुने भएकाले लक्ष्मीपूजा पनि यही दिन गर्नुपर्ने भएको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिले जनाएको छ । यस वर्ष कार्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म मात्र रहेको छ । सो दिन तिहार अन्तर्गत कुनै विशेष पर्व परेको छैन । यद्यपि, तिहारको मध्य समय परे पनि शास्त्रीय रूपमा कुनै विशेष कर्म गर्नुपर्ने दिन नपरेको समितिले स्पष्ट पारेको छ ।

गाईगोरु र गोवर्द्धन पूजा कार्तिक ५ गते बुधबार परेको छ । सोही दिन हलितिहार, बलीपूजा, आत्म पूजा अर्थात् म्ह पूजा र नेपाल संवत् ११४६ को आरम्भ भएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ । सूर्योदयसँगै नयाँ वर्ष मनाउनुपर्ने परम्पराअनुसार यही दिन नेपाल संवत् प्रारम्भ हुने समितिले जनाएको छ ।

कार्तिक ६ गते बिहीबार भाइटिका लगाउनुपर्ने समितिको भनाइ छ । सो दिन बिहान ११ः३९ बजे भाइटिकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिएका छन् । भाइटिका गर्दा दाजुभाइले पश्चिम फर्किएर बस्नुपर्ने र दिदीबहिनीहरूले पूर्व फर्किएर टीका लगाइदिनुपर्ने शास्त्रीय विधि रहेको समितिले जनाएको छ । सर्वसाधारणले मध्याह्नको समयमा टीका लगाउनु शास्त्रसम्मत हुने भए पनि राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ । भाइपूजा, नेवारी भाषामा किजा पूजा भनिने पर्व पनि सोही दिन मनाइन्छ । सूर्यास्त नहुँदासम्म भाइटिका लगाउन कुनै बाधा नरहेको समितिले जनाएको छ ।

झिलीमिलीको चाडका रूपमा चिनिने तिहारको तयारी राजधानी काठमाडौँलगायत देशभर सुरु भइसकेको छ । राजधानीका मुख्य चोक, सडक, घर, पसल, कार्यालय र सार्वजनिक स्थलहरूमा रंगीचंगी बत्ती झलमल्ल देखिन थालेका छन् । झिलिमिली उज्यालोले भरिएका सडक र गल्लीहरूमा घुम्दा नै आनन्दित हुने वातावरण बनेको छ । केही स्थानमा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावली सुरु गर्ने प्रचलन पनि बढ्दै गएको छ । सोही दिन लक्ष्मीपूजा गरेर दीपावलीको प्रारम्भ गर्ने चलन पछिल्लो समय सहरी क्षेत्रमा लोकप्रिय बन्दै गएको छ ।

बडादसैँको समयमा सुनसान हुने काठमाडौँ उपत्यका तिहारमा भने झिलिमिली र उत्सवमय दृश्यले भरिन्छ । लक्ष्मीपूजाका दिन भैलो खेल्ने र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने परम्परा छ । विशेषगरी कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा कोजाग्रत पूर्णिमाबाटै देउसी भैलो खेल्ने प्रचलन रहेको पाइन्छ ।

तिहारको अवसरमा कौडा, लङ्गुर बुर्जा, तासलगायतका विविध स्वरूपका जुवा खेल्ने परम्परा पनि रहिआएको छ । यद्यपि नेपाल प्रहरीले पटाका नपड्काई सभ्य र सुरक्षित ढंगले चाडपर्व मनाउन सार्वजनिक अनुरोध गरेको छ ।