२९ असोज, काठमाडौं ।

नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अल अमेरतस्थित क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेबाट सुरु हुनेछ ।

छनोट प्रतियोगितामा अहिलेसम्म अपराजित रहेका नेपाल र ओमान दुवै टिम विश्वकप स्थानको नजिक पुगेका छन् । आजको खेलको विजेता टोली सिधै आगामी टी–२० विश्वकपका लागि छनोट हुनेछ । त्यसैले नेपालले आजको खेल जिते विश्वकप यात्रा पक्का हुनेछ ।

नेपालले आइतबार युएई र सोमबार कतारलाई पराजित गरेको थियो । उता, ओमानले पनि आइतबार कतार र सोमबार युएईलाई हराएको छ ।

छनोट सुरु हुनुअघि नेपालले वार्मअप खेलमा पनि ओमानसँग प्रतिस्पर्धा गरेको थियो, जहाँ उसले ६ विकेटको जित निकालेको थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीच हालसम्म ८ पटक भिडन्त भएको छ । जसमा नेपालले ५ खेल जित्दा ओमानले ३ खेल (एक सुपर ओभरसहित) जितेको छ ।

नेपालले सुपर सिक्स अन्तर्गत अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ ।