काठमाडौं, ७ असोज

कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदैछ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा ‘जेनजी आन्दोलन’ हिंसात्मक बन्दा स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज मङ्गलबार र भोलि बुधबार गरी दुई दिन सञ्चालन हुनेछ ।

पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी (कोड 0041) विषयको परीक्षा हुनेछ । साथै, एक विषयमा मात्र पूरक परीक्षा दिने विद्यार्थीहरूका लागि पनि आजै परीक्षा लिइनेछ । दुई विषयमा पूरक परीक्षा दिने परीक्षार्थीहरूका लागि भने पहिलो दिन सानो कोड भएको विषयको परीक्षा हुनेछ ।

यदि परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी र नेपाली दुवै विषयमा पूरक परीक्षा दिन लागेका छन् भने पहिलो दिन अङ्ग्रेजी र दोस्रो दिन नेपाली विषयको परीक्षा दिनुपर्नेछ ।

बुधबार अर्थात भोलो दिन, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूको लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । सो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा भने हुनेछैन, किनभने अङ्ग्रेजीको परीक्षा आज (७ असोज) का लागि तोकिएको छ ।

सबै विषयको परीक्षा बिहान ११ बजेबाट सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।